यही फागुन १४ गते अर्थात् महाशिवरात्रिबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मायावी’को भजन गीत ‘माता विन्दवासिनी’ सार्वजनिक गरिएको छ । एसडी योगीको पार्श्व गायन तथा संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता पल शाह भजन गाउँदै देखिएका छन् । अभिनेत्री दीपिका प्रसाईं पूजा गर्न मन्दिर आएको परिवेशमा भिडियो तयार पारिएको छ । साथै, अर्की अभिनेत्री करिश्मा श्रेष्ठ नृत्य गर्दै देखिएकी छन् ।दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा पल, दीपिका र करिश्मासँगै प्रशान्त ताम्राकार, सुशील सिटौला, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिंम्खडा लगायतको अभिनय छ । यो फिल्मबाट समीम खानले डेब्यु गरेका छन् ।
मायावी’मा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सह-निर्मातामा छन् । फिल्मको गीतमा शम्भुजित बाँस्कोटा र एसडी योगीले संगीत दिएका छन् भने कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी तथा मिलन श्रेष्ठको सम्पादन छ ।