गत शुक्रबार फागुन ९ गतेबाट महाशिवरात्रीको छेको पारेर प्रदर्शनमा आएको सिनेमा ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हर्क साँउदको शब्द रचना र सुशान्त गौतम संगीत तथा स्वर अनि रिकेश गुरुङको एरेञ्ज रहेको छ ।सिनेमामा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । जुनिम गहतराजको निर्देशन रहेको सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।