फागुन १४ गते भोली बुधबारबाट महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने सिनेमा ‘मायावी’को प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा सिनेमा हेर्न किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्स हलमा सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
प्रिमियर शोमा ‘मायावी’ हेरपछि महानायक राजेश हमालले सिंगो सिनेमा क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया दिएका थिए । सिनेमाको प्रिमियरमा कमै मात्र पुग्ने हमाल वुधबार आयोजित दिवाकर भट्टराई निर्देशित सिनेमाको प्रिमियर शोमा भने किर्तिपुरसम्म पुगेका थिए ।’सिनेमा ‘मायावी’को प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, पूर्व मिस नेपाल उषा खड्गी, कलाकारहरु सनिषा भट्टराई, उषा उप्रेती, गायक रामकृष्ण ढकाल लगायत पुगेका थिए । सिनेमाका मुख्य कलाकारहरु दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अंशु महर्जन, डेव्यु अभिनेता समीम खान पनि पुगेका थिए । सिनेमा हेरेका अधिकांशले कथावस्तु र प्रस्तुतिले मन जितेको बताए । लभस्टोरी कथावस्तुमा एउटा मन छुने कथामा सिनेमा बनेको सिनेमाकर्मीको भनाई छ । धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा तयार भएको यो सिनेमाले पोखराको सेरोफेरोमा रहेर कथा भन्छ । सिनेमामा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह-निर्माता छन् ।क्रियटिभ सिने आर्ट्सका लागि नेम महर्जन पनि सिनेमाका लगानीकर्ता हुन् । सिनेमामा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ ।