फिल्म ‘कोशेढुंगा’को छायांकन सुरु भएको छ । महाशिवरात्रिको अवसर पारेर बुधबार च्यासलस्थित सेटमा मुहूर्त पूजा गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । करिब एक हप्ता काठमाडौंमा छायांकन हुनेछ । त्यसपछि बाँकी छायांकन स्याङ्जाको गाउँमा गरिने छ । निर्देशक सरोज पौडेलको निर्देशन रहने फिल्ममा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । उनीसहित फिल्ममा आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाल लगायतको अभिनय रहनेछ । फिल्म महिलाप्रधान रहेको निर्देशक पौडेलले बताए ।नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्मातामा छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरिरहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । फिल्मको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत छ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।