अभिनेताद्दय दयाहाङ राई र विजय बराललाई मुख्य भूमिकामा लिएर निर्माण हुन लागेको फिल्म ‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा गरिएको छ । टाइटल टिजर सार्वजनिक गर्दै आगामी वर्षको लक्ष्मीपूजा अर्थात् कात्तिक ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । अहिलेसम्म उक्त मितिमा फिल्मलाई एकल रिलिजको अवसर छ ।सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको फिल्ममा दयाहाङ र विजयसहित पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङ लगायतको अभिनय रहनेछ । आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् । निर्देशक पौडेल स्वयंको कथा रहेको फिल्मलाई उनी आफैंले सम्पादन गर्नेछन् । फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् ।आगामी साताबाट छायांकनको तयारी गरिएको फिल्म सामाजिक कथावस्तु बन्ने निर्देशक पौडेलले जानकारी दिए । तराईका विभिन्न स्थानमा छायांकन गर्न लागिएको फिल्मलाई मनकृष्ण महर्जनले खिच्नेछन् । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रशान्त शिवाकोटी संगीत, सम्राट शाक्य द्वन्द्व निर्देशन तथा प्रदीप लामाको कोरियोग्राफी रहनेछ ।