गायिका तथा मोडल मञ्जयाश्री भट्टको नयाँ गीत ‘झ्याइँ’लाई दर्शकले अत्याधिक रुचाएका छन् । गत ९ अगस्टमा युट्युबमा सार्वजनिक भएको गीतलाई ८ करोड ४५ लाख बढी भ्यूज प्राप्त भएको छ । रिलिजपछि गीत संसारभर ट्रेन्डिङमा समेत परेको थियो । नेपाली र भारतीय संगीतको फ्युजन रहेको गीत अमेरिकाको न्यूयोर्कस्थित पर्यटकीय गन्तव्य टाइम्स स्क्वायरमा सार्वजनिक गरिएको थियो ।
नेपाली लोकगीत ‘झ्याइँ पार्यो मलाई रत्यौलीको झिल्केले झ्याइँ पार्यो’को मुख्य अंशलाई समेटिएको गीतमा मञ्जयाश्री र हिन्दी गीत ‘बद्री की दुल्हनिया’का गायक देव नेगीको आवाज छ । एटमून इन्टरटेनमेन्टले निर्माण गरेको गीतको भिडियोमा मञ्जयाश्री आफैं प्रस्तुत छिन् । उनको जोडी बनेर अलेक्जेन्डर एलेक्सिलिक देखिएका छन् । यसको कन्सेप्ट तथा कथा मञ्जयाश्रीको हो ।
गीतको साउन्ड इन्जिनियरिङ, मिक्सिङ, र मास्टरिङ सञ्जय लीला भन्साली तथा धर्मा प्रोडक्सनका फिल्महरूमा काम गरिसकेका राहुल शर्माले गरेका हुन् । मुम्बईको भव्य एम्पिरियल प्यालेसमा भिडियो छायांकन गरिएको थियो ।‘झ्याइँ’ म्यूजिक भिडियोको निर्देशन बलिउडका अनुभवी छायाँकार तथा निर्देशक विनोद प्रधानले गरेका हुन्, जसले ‘देवदास’, ‘रङ्ग दे बसन्ती’, ‘खामोस’, ‘कलंक’, ‘बागी’, ‘भाग मिल्खा भाग’, ‘यमला पगला दिवाना’ जस्ता दुई दर्जन बढी बलिउड फिल्मको छायांकन गरिसकेका छन् । प्रधानले ‘कुसुमे रुमाल’, ‘सम्झना’ लगायतका नेपाली फिल्महरू समेत खिचेका छन् ।