फिल्म ‘राजागंज’ (पूजा, सर)को ट्रेलर सार्वजनिक गरिएको छ । मधेशमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद् र स्कूलकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनलाई ट्रेलरमा देखाइएको छ । आन्दोलनका बीच प्रहरीले दुई बालकलाई खोज्न अपनाएको रणनीति र आइपर्ने समस्यालाई ट्रेलरले देखाउँछ । प्रहरीको भूमिकामा रहेकी अभिनेत्री आशा मगराती ट्रेलरमा बढी हावी छिन् ।
निर्देशक दिपक रौनियारको निर्देशन रहेको फिल्मआगामी चैत १ गतेबाट प्रदर्शन हुन लागेको हो ।  फिल्ममा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, निकिता चाण्डक (पूर्वमिस नेपाल), गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ । भेनिस, ह्याम्बर्ग, बुसान जस्ता विश्वका प्रतिष्ठित महोत्सवहरुमा फिल्म घुमिसकेको छ ।आदि फिल्मसको तर्फबाट दीपक रौनियार र आशा मगराती, ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मसको तर्फबाट रामबाबु गुरुङ तथा तन्हाउसर गेटको तर्फबाट एलन आर मिलिगनले फिल्मको निर्माणमा सहकार्य गरेका छन् । नर्वेजियन सिनेमा इन्स्टिच्युटको सोर्फोन्डबाट आर्थिक सहयोग समेत प्राप्त गरेको फिल्मको कार्यकारी निर्मातामा बलिउड निर्देशक अनुराग कश्यप रहेका छन् ।