फिल्म ‘झिल्को’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक १ मिनेट १७ सेकेण्ड लम्बाइको टिजरमा मोबाइलको लतका कारण बालबालिकामा परेको असरलाई देखाइएको छ । फिल्मलाई यादव भट्टराईले निर्देशन गरेका हुन् । आगामी बैशाख १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा रंगकर्मी सुनिल पोखरेल मुख्य भूमिकामा छन् । उनले १३ वर्षपछि फिल्ममा अभिनय गरेका हुन् । टिजर हेर्दा उनले प्रधानध्यापकको भूमिका निर्वाह गरेको देखिन्छ । फिल्मकी मुख्य अभिनेत्री वर्षा सिवाकोटीले बाल कलाकार आयुषी ढकालकी आमाको भूमिका निभाएकी छन् ।विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ, जेभिस श्रेष्ठ लगायतको पनि अभिनय रहेको फिल्ममा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देवव्रतको कथा र पटकथा, दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन तथा चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत छ । सुशीला आचार्य र रामगोपाल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता उमेश पौडेल हुन् ।