भोली बाट प्रदर्शनमा आउन लागेका दुई फिल्म ‘आउट ल : दफा २१९’ र ‘अञ्जिला’लाई देशभरका मल्टीप्लेक्सहरुले शो बाँडफाँड गर्दै अग्रिम टिकट बुकिङ खुलाएका छन् । दुवै फिल्मलाई राम्रो शो मिलेको छ । ‘आउट ल’ले १०३ र ‘अञ्जिला’ले ९८ शो पाएको हो । ‘आउट ल’ एक्सनप्रधान फिल्म हो । यसमा अभिनेता सुशील श्रेष्ठ एक्सन भूमिकामा प्रस्तुत छन् । ‘अञ्जिला’ भने बायोपिक फिल्म हो । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षमा फिल्म आधारित छ ।१६ वर्षमुनिका बालबालिकालाई अभिभावकको साथ चाहिने गरी सेन्सर बोर्डबाट ‘पीजी सर्टिफिकेट’ पाएको ‘आउट ल’लाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । अमित अग्रहरिको निर्माण रहेको फिल्ममा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौड्याल, विशाल पहारी लगायतको अभिनय छ । फिल्ममा नविन गुरुङको छायांकन र साहिल खानको सम्पादन छ ।मिलन चाम्सको निर्देशनमा तयार भएको ‘अञ्जिला’मा कप्तान एन्जिला तुम्बापो सुब्बा स्वयं प्रमुख भूमिकामा छिन् । यसमा दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, सुनिल थापा, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको पनि अभिनय छ ।