फिल्म ‘राजागंज’ आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । रिलिज नजिकिदै गर्दा फिल्मलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले भने प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । सोमबार साँझ फिल्मको जाँचपछि बोर्डले केही दृश्य तथा शब्दहरुमा आपत्ति जनाउँदै त्यसलाई सच्चाएर ल्याउन निर्देशन दिएको निर्देशक दीपक रौनियारले बताए ।विशेषगरी बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई-तीनटा आँप’को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाएको हो । त्यसलाई हटाउन वा फिल्ममा समावेश गर्नैपर्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन सेन्सर बोर्डले निर्देशन दिएको छ ।फिल्मको बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर राखिएको छ । तर, फिल्म सेन्सरमा अड्किएकाले प्रिमियर मात्र नभइ प्रदर्शन समेत अन्योय बनेको छ । तर, सेन्सर हुनुभन्दा अगाडि नै इटहरी, विर्तामोड, जनकपुर, चितवन जस्ता सहरमा फिल्मको प्रिमियर शो आयोजना भइसकेको छ । कानुनतः सेन्सर बोर्डबाट प्रमाणपत्र नपाएसम्म फिल्म देखाउन पाइँदैन ।