फिल्म ‘राजागंज’ सेन्सर पास भएको छ ।केही दृश्य र शब्दमा आपत्ति जनाउँदै प्रदर्शन अनुमति नदिएपछि बुधबार दिउँसो निर्माता पुनः सेन्सरका लागि पुगेका थिए । बोर्डले राखेका सबै सर्तहरु मान्न तयार भएपछि फिल्मले सबै उमेरका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ ।
दीपक रौनियार निर्देशित फिल्ममा आशा मगराती, दयाहाङ राई, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्मले अपहरणमा परेका सभासद् र विद्यालयकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा भन्छ ।