फिल्म ‘कर्मा’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता विपिन कार्की  एक्सन अवतारमा देखिएका छन् । उनको पात्रमा बदलाको भाव देखिन्छ ।`कर्मा’लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । यसअघि उनले ‘अगस्त्य’ निर्देशन गरेका थिए । फिल्ममा विपिनको जोडी अभिनेत्री उपासना सिंह ठकुरीसँग बाँधिएको छ । यो उनीहरुको पहिलो सहकार्य हो । यसमा मुकुन भुसाल, दिव्यदेव पन्त, सरिता गिरी, बेन बस्नेत लगायतको पनि अभिनय छ । मुकुनले यसमा नकारात्मक भूमिका निभाएका छन् ।

वसन्त लम्सालको लगानी रहेको फिल्ममा निर्देशक चौधरी स्वयंको कथा छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् । यसमा भाष्कर स्वाँरको संगीत निर्देशन तथा ब्याकग्राउन्ड म्यूजिक, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी तथा निमेष श्रेष्ठको सम्पादन छ । ‘कर्मा’लाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज सिनेमाले वितरण गर्नेछ ।