फिल्म ‘नरसिंहा अवतार’ को रिलिज निश्चित मितिमा  नहुने भएको छ । प्राविधिक काम नसकिएकाले पूर्वनिर्धारित मितिमा फिल्म नआउने निर्देशक दीवाकर भट्टराईले जानकारी दिए । फिल्मको नयाँ प्रदर्शन मिति भने तय भएको छैन । तर, आगामी जेठमा रिलिजको तयारी भइरहेको उनले बताए ।`नरसिंहा अवतार’ अभिनेता राजेश हमालको आठ वर्षपछिको कमब्याक फिल्म हो । यसैले यो फिल्मप्रति दर्शकमा चासो र अपेक्षा उच्च छ । हमाल स्वयंका लागि पनि यो फिल्म निकै महत्त्वपूर्ण छ । किनकि, उनका पछिल्ला केही फिल्म अपेक्षित चल्न सकेनन् । जसले गर्दा उनले आठ वर्ष ब्रेक लिए । अब करिअरलाई पुरानै लयमा फर्काउन उनका लागि ‘नरसिंहा अवतार’ चल्नैपर्ने देखिन्छ ।यसमा राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, नीर शाह, सरोज खनाल, उषा खड्गी (पूर्वमिस नेपाल), प्रशान्त ताम्राकार, दीपा शाही, राजिव बस्नेत, अर्जुन श्रेष्ठ, अमित श्रेष्ठ लगायतको पनि अभिनय छ । फिल्मको निर्मातामा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपाने छन् । चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको फिल्ममा राजेश हमाल दुई फरक लुक्समा देखिने जनाइएको छ ।