फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) भोलि शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । रिलिज अगावै बुधबार काठमाडौंमा आयोजित प्रिमियरमा फिल्मले  सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । प्रिमियरमा पुगेका प्रायःले सस्पेन्स पक्ष र कलाकारको अभिनयको प्रशंसा गरे ।अभिनेत्री तथा पूर्व मिस नेपाल मलिना जोशी, निर्देशकहरू सवीर श्रेष्ठ, सुवर्ण थापा, लक्ष्मण सुवेदी, सुवास कोइराला, अभिनेताहरू आर्यन अधिकारी, गजित बिष्ट, जयकिशन बस्नेत, निर्माता तथा वितरक गोपालकाजी कायस्थ, कलाकारहरू दीपक आचार्य लगायतको उपस्थिति रहेको थियो । मेलिनाले ‘११:५५’ नेपालमा क्राइम थ्रिलर जनरामा बनेको उत्कृष्ट फिल्म रहेको दाबी गरिन् । उनले भनिन्, ‘जुन जनरामा यो फिल्म बनेको छ, त्यसमा उत्कृष्ट छ । फिल्ममा अभिनय गरेका सबै कलाकारले उत्कृष्ट काम गर्नुभएको छ ।  कलाकार दीपक आचार्यले पनि फिल्मको प्रशंसामा शब्द खर्चिए । ‘क्राइम थ्रिलर जनरामा नेपालमा खासै फिल्म बन्दैनन् । निर्माताले ठूलो जोखिम मोलेर यो जनराको फिल्म बनाउनुभएको छ । मलाई फिल्म उत्कृष्ट लाग्यो । क्राइम थ्रिलर फिल्म मन पर्नेले एकपटक हेर्नैपर्छ । कलाकारहरु सबैले निकै उत्कृष्ट काम गर्नुभएको छ ।प्रिमियरमा मिलेको प्रतिक्रियाले फिल्मका शीर्ष कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ र सागर खनाल खुसी देखिएका थिए । सञ्चारकर्मीसँगको कुराकानीमा महेशले सृष्टिको कामको प्रशंसा गरे । केशव पाण्डेको निर्देशनमा बनेको फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ । श्याम शर्मा र सरोजा शर्माको लगानीमा तयार भएको ‘११:५५’मा प्रद्युमन मिश्रको डिओपी छ भने रामशरण उप्रेतीको सिनेमाटोग्राफी, अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन तथा पासाङ दावा शेर्पाको सम्पादन रहेको छ ।