फिल्म ‘रंगी’ को विदेश प्रदर्शन यात्रा सुरु हुने भएको छ । त्यसको सुरुवात नेपालीहरुको ठूलो संख्यामा बसोबास रहेको देश अष्ट्रेलियाबाट हुनेछ ।आगामी अप्रिल ६ (चैत २४ गते)बाट अष्ट्रेलियामा फिल्म प्रदर्शन हुने छ । यतिबेला यस् फिल्मका निर्माता तथा कलाकार सलोन बस्नेतका पिता तथा निर्देशक शोभित बस्नेत फिल्म ‘पीआर’को छायांकनका लागि अष्ट्रेलियामै छन् । उनकी बहिनी पनि लामो समयदेखि अष्ट्रेलियामा बस्दै आइरहेकी छन् । फिल्मको प्रदर्शनका लागि सलोन पनि अष्ट्रेलिया जाने बुझिएको छ ।बाबु-छोरीबीचको भावनात्मक सम्बन्धको कथामा बनेको ‘रंगी’मा सलोन स्वयं मुख्य भूमिकामा छन् । नम्रता श्रेष्ठ (पूर्वमिस नेपाल), दीलिप रायमाझी, आयुषी ढकाल (बाल कलाकार), उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको पनि अभिनय रहेको फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गरेका हुन् ।सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ ।