फिल्म ‘११:५५’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । ‘११:५५’ क्राइम-थ्रिलर फिल्म हो । एउटा घरभित्र भएको ‘मर्डर’को कथामा फिल्म आधारित छ ।  फिल्मलाई मल्टीप्लेक्सहरुले सुखद् शो बाँडेका छन् । ‘११:५५’ले देशभर ६० शो पाएको छ । यतिबेला हलमा अघिल्लो साताको बिहीबारबाट प्रदर्शनमा आएको नेपाली महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’को दबदबा देखिएको छ । पहिलो हप्ता साढे २ करोडमाथि व्यापार गरेको यो फिल्मप्रति दर्शकको आकर्षण बढ्दो छ । यसैले दोस्रो सातामा पनि देशभरका मल्टीप्लेक्सले सबैभन्दा बढी शो यही फिल्मलाई दिएका छन् ।
यतिबेला नेपालका हलहरु फिल्मले भरिभराउ छन् । नयाँ रिलिजमा नेपालीतर्फ ‘११:५५’ सहित ‘अञ्जिला’, ‘आउटल: दफा २१९’, ‘राजागंज’, ‘लाज शरणम्’ र ‘होस्टेल ३’ छन् भने विदेशी फिल्मतर्फ ‘स्नो ह्वाइट’, ‘मिकी १७’ र ‘छावा’ प्रदर्शनरत छन् ।