अभिनेत्री अञ्जना बराइलीको नयाँ फिल्म ‘डोरी’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । तर, फिल्मको बुकिङ निकै कमजोर देखिएको छ । बिहानी शोमा अकुपेन्सी पनि सुखद् छैन । यसको मुख्य कारण कमजोर प्रचार हुनसक्ने देखिन्छ । यो अवस्थामा फिल्मले व्यावसायिक सफलताका लागि बलियो ‘वर्ड अफ माउथ’ पाउन आवश्यक छ । आइतबारबाट भने यो फिल्मलाई बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’ ठूलो ‘थ्रेट’ बन्न सक्नेछ ।देशभर लगभग एक सय हाराहारी शो पाएको फिल्मले सेन्सर बोर्डबाट ‘पिजी’ प्रमाणपत्र पाएको छ, जसकारण १६ वर्ष मुनिका बालबालिकाले अभिभावकका साथमा मात्र फिल्म हेर्न पाउनेछन् । अरुण लामाको निर्देशन रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छ्न् ।निर्देशक लामा स्वयंको लेखन रहेको फिल्ममा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ लगायतको पनि अभिनय छ । फिल्मका निर्माता दिनेश भट्टराई हुन् । कार्यकारी निर्मातामा राज थापा छन् । सौरभ लामाको छायांकन रहेको फिल्मको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् ।