फिल्म ‘पिताम्बर’को एक्सनप्रधान ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले फिल्म महिलामाथि हुने अत्याचारको कथामा बनेको प्रष्ट पार्छ । ट्रेलरमा प्रदीप नै हावी छन् । उनलाई एक्सन अवतारमा देख्न सकिन्छ । उनको अभिनेता सौगात मल्लसँग पनि घम्साघम्सी परेको छ । अभिनेता दयाहाङ राई भने प्रहरीको भूमिकामा छन् । कृषा चौलागाईंको निर्देशन रहेको फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको हो । फिल्ममा प्रदीप, दयाहाङ र सौगातसहित आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट लगायतको अभिनय छ ।
फिल्मका निर्माता विशाल चौलागाईं हुन् । पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता तथा सुमन गौतम कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन तथा हिमाल केसीको द्वन्द्व निर्देशन छ ।