फिल्म `ऊनको स्विटर´ को टिजर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको फिल्मको टिजरमा डायरी भर्ने समयको कथा छ, जहाँ डायरीका पानाहरू पल्टिँदा पुरानो यादको सुवास महसुस गर्न सकिन्छ । अभिनेत्री मिरुना मगरले डायरी भर्न दिएपछि अभिनेता विपिन कार्कीले प्रेमिल शब्द कोरेको दृश्यबाट सुरु भएको टिजरमा प्रेम, भावनात्मक द्वन्द्व र स्मृतिहरूको यात्रा प्रस्तुत गरिएको छ ।

फिल्मलाई नवीन चौहानले निर्देशन गरेका हुन् । उनको निर्देशनमा बनेका ‘घुमी घुमी’, ‘तीन पाते’, ‘फूलथुङ्गे रानी’ जस्ता म्यूजिक भिडियो चर्चित छन् । फिल्ममा विपिन र मिरूनासहित विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, मेनुका प्रधान, भावना खपाङ्गी मगर, शारदा देवी सिलवाल लगायतको अभिनय छ ।

निर्देशक चौहान स्वयंको लेखन रहेको फिल्ममा सुजन चापागाईँको गायन तथा संगीत छ । उनले गाएको ‘मखमखी’ बोलको गीत चर्चित भइसकेको छ । युट्युबमा मात्र गीतलाई ९० लाख बढीले हेरिसकेका छन् । सुरज कटुवालको सह-लेखन रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ । फिल्मलाई सांगीतिक कम्पनी आर्टमाण्डूले निर्माण गरेको हो ।