फिल्म ‘चमेलीको पोई’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । गत वर्ष नारायण त्रिपाठी (प्रेम चरो)लाई मुख्य भूमिकामा अनुबन्धित गरिएको फिल्ममा अब सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई (तक्मे बुढा), रविन्द्र झा, उमेश राई (फुलन्देकी आमा), रजनी गुरुङ, खड्गबहादुर पुन, बबिन राई लगायतको प्रवेश भएको छ ।

कलाकार त्रिपाठीले यही फिल्मबाट दुई दशकपछि अभिनयमा पुनरागमन गर्न लागेका हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनी पछिल्लो पटक फिल्म ‘मनमा माया’ (सन् २००५)मा देखिएका थिए । कुनै बेला हास्य चरित्रमा सर्वाधिक रुचाइएका उनले ५० बढी फिल्ममा काम गरेका छन् l निर्देशक एभ्रेस्ट बोहोराको निर्देशन रहने फिल्म नयाँ वर्ष २०८२ को पहिलो दिन मुहूर्त गरेर छायांकन सुरु गर्न लागिएको हो । फिल्ममा अंशु महर्जन, अनुष्का नारायण, मीरा गौतम, अनिल गुरुङ, गणेश गौतम, रितु मल्ल ठकुरी, धनलक्ष्मी बोहरा, मीरा आरएल शाही ठकुरी, प्रकाश कँडेल, विनोद बज्रचार्य, कपिल आचार्य, प्रदीपकुमार सापकोटासहित निर्देशक बोहराको पनि अभिनय रहनेछ ।

एभरेष्ट सूर्य बोहरा फिल्मससँगको सहकार्यमा धनलक्ष्मी सिने मेकर्सले निर्माण गर्न लागेको फिल्मको निर्मातामा सुनीता सापकोटा र रामनारायण उपाध्याय, कार्यकारी निर्मातामा उदय बिक्रम राणा र रितु मल्ल ठकुरी तथा सह-निर्मातामा प्रदीपकुमार सापकोटा, कपिल आचार्य, यमप्रसाद ओली, यम बराल, नारायण त्रिपाठी र सुदिप कुँवर छन् । फिल्ममा निर्देशक बोहरा स्वयंको लेखन छ ।