फिल्म ‘नरसिंहाः अवतार’को पोस्टर फरक शैलीमा सार्वजनिक गरियो ।राजेश  हमाल चित्रित ६० फिट लामो पोस्टर काठमाडौंको मध्य बानेश्वरस्थित ग्लोबल कलेजका ५ सय बढी विद्यार्थीले तन्काएर सार्वजनिक गरेका हुन् । 
फिल्मका अर्का अभिनेता राज कटुवालको पोस्टर भने उक्त कलेजको भवनमाथिबाट सार्वजनिक गरिएको थियो । उनको पोस्टर पनि ६० फिट लामो छ । सम्भवतः यसअघि यति लामो पोस्टर नेपाली फिल्मको बनेको थिएन । 
निर्देशक दीवाकर भट्टराईका अनुसार राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म भएकाले नयाँ तरिकाले पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा हमाललाई एक्सन मुडमा देख्न सकिन्छ । नरसंहारको दृश्य समावेश पोस्टरमा उनी भूइँमा घाइते भएर लडेका व्यक्तिको छातिमाथि एउटा खुट्टा राखेर उभिएका छन् । उनको अनुहारमा रिसको आवेग देखिन्छ ।निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्ममा हमाल र कटुवालसहित सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही लगायतको अभिनय छ । नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको संयुक्त निर्माण रहेको फिल्ममा चन्द्र पन्तको द्वन्द्व निर्देशन छ ।