फिल्म ‘वसन्त’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । बलियो ‘स्टारकास्ट’, गीतसंगीतको चर्चा र ट्रेलरलाई प्राप्त प्रतिक्रियाको आधारमा फिल्मले सुखद् व्यापार गर्ने प्रक्षेपण गरिएको छ । त्यसका लागि शो पनि पर्याप्त छ । पहिलो दिनका लागि देशभरका हलमा तीन सयभन्दा बढी शो छ । तर, शोअनुसार फिल्मको बुकिङ भने उत्साहप्रद देखिएको छैन । यो अवस्थामा फिल्मलाई व्यापारिक गति समात्न ‘माउथ पब्लिसिटी’ बलियो हुन जरुरी छ ।बिहीबार साँझ निर्देशक सपूतले आफ्नो फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै यसपटक आफूलाई ठूलो भारी बोकेको महसुस भइरहेको बताएका छन् । साढे चार मिनेट लामो भिडियोमा उनले गम्भीर भावमा भनेका छन्, ‘मलाई यसपटक ठूलो भारी बोकेको जस्तो महसुस भएको छ । र, उठ्न गाह्रो भएजस्तो महसुस भएको छ । खुट्टा कामेको छ । मन आत्तिएको छ । आँत सुकेको छ ।’‘वसन्त’मा प्रकाश सपुत  मुख्य भूमिकामा छन् भने उनको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ । यसमा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको पनि अभिनय छ । ‘वसन्त’ले जातीय विभेदको कथा उठाएको छ । यसबाट प्रकाशले ‘सबै बराबर’ भन्ने अभियान पनि सुरू गरेका छन् ।