फिल्म ‘खुस्मा’का निर्देशक अशोक थापा मगरले दोस्रो फिल्मको रुपमा ‘जलाकी’ बनाउने भएका छन् । उनले शुक्रबार बाग्लुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरबाट छायांकन समेत सुरु गरेका छन् । केही दिनअघि पोखराको विन्ध्यवासिनी मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको थियो । फिल्ममा अभिनेता सोनम तोप्देन र अभिनेत्री उपासना सिंह ठकुरीको जोडी बाँधिएको छ । यो उनीहरुको पहिलो सहकार्य हो । यसबाट ‘बार्दली’ गीतको भिडियोमा अभिनय गरेकी आकृति राजभण्डारीले अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् ।त्रिकोणात्मक प्रेमकथामा आधारित भएर बन्न लागेको फिल्ममा अस्तित्व भट्टचन, माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतको पनि अभिनय रहनेछ । बाग्लुङ, रुकुम, म्याग्दी, पोखरा र दक्षिण कोरियामा फिल्मको छायांकन हुने निर्देशक थापाले जानकारी दिए ।एम मिडियाको व्यानरमा निर्माण हुन लागेको फिल्मको निर्माताहरुमा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । शैलेन्द्र डि. कार्कीले छायांकनको जिम्मेवारी सम्हालेको फिल्ममा एसडी योगी र सरित राईको संगीत तथा सुरेन्द्र राना र राम अविरल विष्टको रचना छ ।निर्देशक थापाले फिल्ममा मगर र गुरुङ समुदायको संस्कृतिलाई झल्काइने बताए । यसमा उनी स्वंयको लेखन छ ।