दुई महिना अघि औपचारिक कार्यक्रम गर्दै निर्माण घोषणा गरिएको चलचित्र ‘लिलिबिली’ले यति बेला नयाँ मोड लिएको छ । चलचित्रको निर्माण घोषणामा दुई नव–नायिका रेबिका गुरुङ र जसिता गुरुङले नायक प्रदीप खड्कासँग रोमान्स गर्ने भनिएको थियो । बडिगार्ड सहित कार्यक्रममा प्रदीप लगायत दुई नव–नायिका पुग्दा मिडियामा यो विषयले निकै चर्चा पायो । मिलन चाम्सले निर्देशन गर्ने भनिएको चलचित्र ‘लिलीबिली’का प्रदीप, रेबिका र जसिताले एकसाथ वर्कसप समेत गरेका थिए ।
तर, यति बेला दुई नायिका मध्यबाट रेबिका गुरुङ भने बाहिरिएको खबर प्राप्त भएको छ । स्रोतका अनुसार चलचित्रमा रेबिकाको स्थानमा अभिनेत्री प्रियंका कार्की देखिने भएकी छिन् । नायिकाको विषयमा यस अघि लिलिबिलीको लागी हलिउड गर्ल शिल्पा मास्के तय भएकी थिइन् ।
तर, उनले काम गर्न नमाने पछि मिलनले दुई नव–नायिकाको साथमा चलचित्र घोषणा गरेका थिए ।निर्माण पक्षको अनुसार चलचित्रको छायाङ्कन कात्र्तिकको पहिलो साताबाट सुरु हुने बताइएको थियो । बेलायतको विभिन्न स्थानमा छायाङ्कन हुने भनिएकाे चलचित्रको लागी नव–नायिका रेबिकालाई बेलायत दूतावासले भिसा दिएन । दोस्रो चोटि आवेदन दिदाँ पनि भिसा नदिएको कारण उनको स्थानमा प्रियंका अनुबन्धित भएको बुझिएको छ ।
भिसाको साथै रेबिका अस्वस्थ भएको कारण उनले ‘लिलिबिली’ नगरेको उनी निकट बताउछन् । सनेपाटीसँग कुरा गर्दै चलचित्रका निर्देशक मलिन चाम्सले प्रियंकाको लिलिबिलीमा सम्भावना प्रबल रहेको बताए । हाल प्रियंका चलचित्र ‘ह्याप्पी डेज’को प्रिमियरको लागी बेलायत पुगेकी छिन् । ‘ह्याप्पी डेज’लाई पनि मिलन चाम्सले निर्देशन गरेका हुन् ।