गत शुक्रबार चैत्र २२ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘वसन्त’को माउथ पब्लिसिटी राम्रो भइरहेको निर्देशक तथा अभिनेता प्रकाश सपूतले बताएका छन् ।सामाजिक कथाबस्तु उठान गरेको सिनेमा ‘वसन्त’ राम्रो रहेको भन्दै सबैले हेर्नुपर्नेमा दर्शकले बताएका छन् । ‘नेपाली समाजको कथा छ । वास्तविक कथा छ । यो सिनेमा चल्नेवाला छ,’ सिनेमा हेरेपछि एक दर्शकले प्रतिक्रिया दिँदै भने, ‘गाउँको कथा राम्रोसँग उठाएको सिनेमा राम्रो छ ।’गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भनेको छ ।सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । गायक तथा अभिनेता प्रकाश सपूतको डेव्यु निर्देशकीय सिनेमालाई सुसन प्रजापतिले खिचेका छन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गरेको छ l नेपाल र विदेशमा एक साथ यही चैत २२ गते रिलिज एको सिनेमामा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ ।