फिल्म ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले फिल्मको कथावस्तु जार संस्कृतिमा आधारित रहेको खुलासा गर्छ ।अनुप विक्रम शाहीकी श्रीमती (गीताञ्जली थापा)सँग सौगात मल्लले भागेर विवाह गरेपछि समाज बसेर गरेको निर्णय र सौगातलाई अनुपले खुकुरी लिएर जंगलमा लखेटेको दृश्य ट्रेलरमा देख्न सकिन्छ ।फूर्वा छिरिङ लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सरवानन इलावार्सुको छायांकन तथा अखिलेश राईको सम्पादन रहेको छ । ‘फेर्री टेल पिक्चर्स’को निर्माण रहेको फिल्मको कार्यकारी निर्माताहरुमा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । फिल्मको सम्पूर्ण छायांकन सिक्किम क्षेत्रमा भएको हो ।
भारतीय फिल्म उद्योगमा सक्रिय गीताञ्जलीले ‘जार’बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । उनले भारतीय राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेकी छन् । ‘लायर्स डाइस’बाट उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जितेकी थिइन् । उनी अभिनीत फिल्म टोरन्टो, बुसान जस्ता फेस्टिभलमा समेत स्क्रिनिङ भएका छन् । नेटफ्लिक्सको वेब सिरिज ‘सेक्रेड गेम्स’मा पनि उनले काम गरेकी छिन् ।