फिल्म ‘पिताम्बर’ लाई दर्शकको साथ मिलेको छ ।। चैत्र २९ बाट रिलिजमा आएको फिल्मले दर्शकहरुको सुखद प्रतिक्रिया पाइरहेको छ । फिल्मका मुख्य कलाकारहरू काठमाडौंका विभिन्न हलमा पुगिरहेका छन् भने फिल्म हाउसफुल भैरहेको छ । कृषा चौलागाइको निर्देशनमा तयार भएको यो फिल्मको मेकिङ, एक्सन, कथावस्तु, प्रस्तुति र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् । कतिपय दर्शकहरुले फिल्म ‘बबाल’ बनेको भन्दै प्रतिक्रिया पनि दिएका छन् ।फिल्म हल पुगेका नायक प्रदीप खड्काले पनि उत्कृष्ट प्रतिक्रियाले आफूहरूलाई उत्साहित बनाएको बताए । यता, नायिका दिव्या रायमाझीले यस्तो भिड आफूले यसअघि नदेखेको भन्दै निकै खुशी लागेको तर्क गरिन् । विशाल चौलागाइको लगानीमा तयार भएको यो फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी, हिमाल केसीको एक्सन, बन्दे प्रसादको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ । १७० शोजका साथ देशभर रिलिजमा आएको फिल्मले दिवा, बेलुकी र रात्रिकालीन शोजहरुमा अझै आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ ।