निर्देशक अशोक शर्माको निर्देशनमा बन्न लागेको फिल्म ‘डबल ट्रिपल’ को प्रदर्शन मिति हेरफेर गरिएको छ। सुरुमा दशैंको फूलपातीलाई रिलिज मिति तय गरिएको भए पनि अहिले फिल्म आगामी फागुन १ गते, अर्थात् भ्यालेनटाइन डेको अवसरमा रिलिज हुने भएको हो।

आइतबार साँझ फेसबुकमार्फत निर्देशक शर्माले दशैंमा रिलिज हुने फिल्महरूको भीडका कारण आफ्नो फिल्मलाई पछि सारिएको जानकारी दिएका छन्। उनले दशैंमा कम फिल्म ल्याउन अन्य निर्माता–निर्देशकसँग सहमतिको प्रयास गरे पनि कोही पनि सहमत नभएपछि आफ्नै फिल्मको मिति परिवर्तन गर्न बाध्य भएको उल्लेख गरेका छन्। साथै, उनले दशैंमा रिलिज हुन लागेका ‘जारी २’ देखि ‘बलिदान’ सम्मका सबै फिल्मलाई शुभकामना दिएका छन्।

यसपालिको दशैंमा आधा दर्जनभन्दा बढी नेपाली फिल्म रिलिज हुने तयारीमा छन्, जसले गर्दा बजारमा भिड हुने अनुमान गरिएको छ।

‘डबल ट्रिपल’ मा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल, सुरवीर पण्डित लगायतका कलाकारहरूको अभिनय रहनेछ।

फिल्मको कथा तथा पटकथा अशोक शर्मा र राजेश सिटौला को रहेको छ भने संवाद शान बस्न्यात ले लेखेका छन्। किरण शर्मा पौड्याल, कृति शर्मा र अंकित शर्मा को लगानीमा बन्ने यो फिल्ममा मनोज पण्डित ले स्क्रिप्ट डक्टरिङ गरेका छन्। शम्भुजित बाँस्कोटा को संगीत, आलोक शुक्ला को छायांकन, राजु किराँती को द्वन्द्व निर्देशन र सुनिल क्षेत्री को नृत्य निर्देशन रहेको छ।