फिल्म ‘पहाड’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार नयाँ वर्षको अवसर पारेर युट्युबमा मोसन पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक ७ गतेलाई प्रदर्शन मिति तय गरिएको हो । उक्त मिति भाइटीकाको भोलिपल्ट परेको छ । निर्देशक तुलसी घिमिरेको न्यारेसनमा तयार पारिएको मोसन पोस्टरमा फिल्मका मुख्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रेनुनाथ योगी, अरुण क्षेत्री, पञ्चमी घिमिरे र अंकित खड्का क्यारेक्टर लुक्समा प्रस्तुत छन् । पञ्चमी निर्देशक घिमिरेकी कान्छी छोरी हुन् । उनले यही फिल्मबाट डेब्यु गरेकी हुन् ।युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाडी बस्ती र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई फिल्ममा चित्रण गरिएको निर्देशक घिमिरेले बताए । उनले भने, ‘फिल्ममा मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ । हाम्रो दायित्व र देशको आवश्यकतालाई फिल्मले चित्रण गर्छ ।’रिम्पोछे लामा थिङ र सुरेश लामा थिङ निर्माता रहेको फिल्मका छायाँकार प्रमोद प्रधान हुन् । भाग्यरत्न फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा रञ्जित गजमेरको संगीत रहेको छ । एक गीतमा विपिनले र्‍याप गाएका छन् । भावना घिमिरे प्रोडक्सन डिजाइनर र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेको फिल्ममा ओजश्वी केसी सह-निर्मातामा छिन् । गत महिना गोरखा जिल्लामा ३६ दिन छायांकन भएको फिल्मलाई अब १० दिन भारतको मुम्बईमा खिच्ने तयारीमा निर्माण टिम छ ।