निर्देशक दिनेश राउतले मल्टीस्टारर फिल्म बनाएका छन् । त्यो फिल्म हो, ‘महाभोज’ । यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत लगायतको मुख्य भूमिका छ । ‘स्टारकास्ट’कै कारण चर्चामा रहेको यो फिल्म गणतन्त्र दिवसको अवसर पारेर आगामी जेठ १५ गतेदेखि प्रदर्शनको तयारीमा छ lगत फागुनमा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रचार सुरु गरेको थियो । आइतबार दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । जसमा फिल्मका मुख्य कलाकारहरु चित्रित छन् । दुवै पोस्टरमा दयाहाङलाई खुसी भावमा देख्न सकिन्छ भने आर्यनको गेटअपले नेताको झल्को दिन्छ ।
सार्वजनिक दुईमध्ये एउटा पोस्टरको पृष्ठभूमिमा एक हजारको नोट राखिएको छ भने दोस्रो पोस्टरमा ग्रामीण परिवेश देख्न सकिन्छ । यसले फिल्ममा राजनीतिक र सामाजिक प्रतिविम्ब रहेको संकेत गर्छ । दुई चरणको पोस्टरपछि अब यही बैशाख ९ गते फिल्मको टिजर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ ।यसमा वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय छ । विकास सुवेदीको लेखन रहेको फिल्मका निर्माता हिमाल कडरिया र कार्यकारी निर्माता किरण नेपाली हुन् । निर्माण पक्षका अनुसार फिल्मलाई नेपालसँगै नेपालीहरू बसोबास गर्ने प्रायः सबै मुलुकमा एकसाथ प्रदर्शन गरिनेछ ।