हास्य जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ‘सेन्टी भाइरस’ रिलिजको ५ वर्षपछि एकपटक फेरि फिल्ममा एकसाथ देखिने भएका छन् । वसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्म ‘पाँच पाण्डव’मा उनीहरुको जोडी बाँधिन लागेको हो । फिल्ममा सिताराम र कुञ्जनाको मुख्य भूमिका रहने छ । उनीहरुबाहेक अरु कलाकार भने निश्चित हुन बाँकी रहेको उनको भनाइ छ । यसै वर्ष छायांकनको तयारी गरिएको फिल्मलाई ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले निर्माण गर्नेछन् । उनकै कम्पनी काली रानी फिल्म्सबाट बोर्डमा फिल्म दर्ता छ । यो फिल्म साढे तीन करोड हाराहारीको लागतमा बन्नेछ ।‘पाँच पाण्डव’ कुञ्जनाको ५ वर्षपछिको कमब्याक फिल्म हुनेछ । ‘सेन्टी भाइरस’पछि उनले फिल्ममा काम गरेकी छैनन् । सितारामले भने हाल प्रदर्शनरत ‘लाज शरणम्’बाट कमब्याक गरेका हुन् । यसमा उनले व्यापारीको भूमिका निभाएका छन् ।