आगामी जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाभोज’ले सहकारी ठगीको विषय उठाएको छ । फिल्ममा अभिनेता दयाहाङ राई सहकारी प्रमुखको भूमिकामा छन् ।टिजरअनुसार आर्यन सिग्देल गाउँपालिका अध्यक्षको भूमिकामा छन् । खगेन्द्र लामिछाने र अञ्जना बराइलीलाई पति-पत्नीको रूपमा देख्न सकिन्छ । गौमाया गुरुङले दयाहाङको श्रीमतीको भूमिका निभाएकी छन् ।
दिनेश राउतको निर्देशनमा तयार भएको फिल्ममा मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, वीरेन्द्र सिंह कुशवाह लगायतको पनि अभिनय छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हिमाल कडरिया र कार्यकारी निर्माता किरण नेपाली हुन् ।
फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, सुनिल क्षेत्री र मौसम हिमालीको नृत्य निर्देशन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मले वर्ग सङ्घर्षलाई कथानकको मूल विषय बनाएको छ ।