वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘ऊनको स्वीटर’ को प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन चर्चित गायक सुजन चापागाईँ चलचित्रका प्रमुख कलाकारहरू सहित देशभरका दर्शकहरूसँग प्रत्यक्ष भेटघाट तथा साङ्गीतिक कार्यक्रम मार्फत संवादमा उत्रने भएका छन् । ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’ शीर्षकमा पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । सुजनसँगै चलचित्रका प्रमुख कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सम विक्रम राई र निर्देशक नवीन चौहानको उपस्थिति रहनेछ ।

पोखराको लेकसाइड स्थित हल्लन चोकमा आज अपराह्न ४ बजेबाट सुरु हुने कार्यक्रम ऊनको स्वीटर साँझ प्रचार नेपाल, पोखराको व्यवस्थापनमा आयोजना हुँदैछ । उक्त कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र चलचित्रका कलाकारहरू एलेक्स पारस र परीक्षा लिम्बुले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुति दिनेछन् भने सुजन चापागाईँले ‘फूल’ गीतमा एकल प्रस्तुति दिनेछन् । त्यसै गरी, धरानको रङ्गशालामा वैशाख १८ गते साँझ ५ बजे आयोजना हुने कार्यक्रम ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’ लाई सुजनको ‘द इन्फिनिटी ब्यान्ड’ ले साथ दिनेछ । कार्यक्रममा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बु र चर्चित गायिका सुनिता थेगिमको पनि विशेष प्रस्तुति रहनेछ