बिग बोस १८’मा सहभागी भएपछि चर्चामा आएकी भारतीय अभिनेत्री चुम दराङले अब नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छन् । उनले  फिल्म ‘ऐरी’मा काम गर्न लागेकी हुन् । यसमा उनको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिनेछ । ‘बिग बोस’मा नजाँदै उनीसँग फिल्मका निर्माताले कागजी सम्झौता गरेका थिए । फिल्मका लागि अहिले उनी काठमाडौंमा छिन् ।
‘बिग बोस १८’मा चुम अन्तिम पाँचमा पुगेर बाहिरिएकी थिइन् । यसपछि उनको बलिउडमा व्यस्तता निकै बढेको छ । सन् २०२० मा ओटीटीमा रिलिज भएको वेब सिरिज ‘पाताल लोक’बाट अभिनय करिअर सुरु गरेकी उनले ‘बधाई दो’, ‘खौफ’, ‘गंगुबाई कठियाबाडी’ जस्ता फिल्ममा काम गरिसकेकी छन् । ‘बधाई दो’मा उनी अभिनेत्री भूमि पेडनेकरको अपोजिटमा देखिएकी थिइन् ।

अबको दुई सातापछि छायांकन सुरु हुन लागेको ‘ऐरी’लाई जीवन थापाले निर्देशन गर्नेछन् । उनले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । नेपाली र हिन्दी भाषामा तयार हुन लागेको फिल्मको ३ महिना छायांकन र भिएफएक्समा ७/८ महिना समय लाग्ने जनाइएको छ । भिएफएक्समा मात्र ६ करोड बढी खर्च हुने अनुमान छ ।

‘प्रेमगीत ३’को हिन्दी डबलाई भारतमा वितरण गरेको कम्पनीसँगको सहकार्यमा निर्देशक थापाको कम्पनी मल्टिमेटले फिल्मको निर्माण गर्नेछ । नेपाल र भारतमा छायांकन गर्न लागिएको फिल्ममा अभिनेताद्वय धीरज मगर र सोनम तोप्देनको पनि मुख्य भूमिका रहने निश्चित भइसकेको छ ।