फिल्म ‘महाभोज’को मातातीर्थ औँसीको दिन पारेर एउटा भावनात्मक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री वसुन्धरा भुसालबीचको मनछुने संवाद समावेश छ । वसुन्धरा दिवंगत छोरालाई सम्झिँदै भावुक हुँदा दयाहाङले आफ्नो आमाजस्तै सधैं माया गर्ने भाव व्यक्त गरेका छन् ।दिनेश राउतको निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ र वसुन्धरासहित आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय छ । फिल्ममा विकास सुवेदीको लेखन छ ।

नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण ‘महाभोज’मा रहेको निर्देशक राउतको भनाइ छ । उनका अनुसार फिल्म पात्रहरूको आफ्नै अस्तित्व र आत्मसम्मानको लडाइँमा केन्द्रित छ । फिल्मको निर्मातामा हिमाल कडरिया तथा कार्यकारी निर्मातामा किरण नेपाली छन् । राजेश श्रेष्ठको फिल्ममा छायांकन रहेको छ ।