प्याट्रिक सुवेदी (प्रतिक) र रमेश ढकालले फिल्म ‘चुले निम्तो’ निर्माण गर्ने भएका छन् । बुधबार अक्षय तृतीयाको अवसरमा थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरलाई बिहेको निम्तो कार्ड जसरी तयार पारिएको छ । पोस्टरको डिजाइन र शीर्षकले फिल्मको कथा विवाहमा आधारित रहने जनाउँछ । फिल्मलाई दीपक वलीले निर्देशन गर्नेछन् । यो उनको पाँचौँ निर्देशकीय फिल्म हुनेछ । यसअघि उनले ‘रोल्पा रोग’, ‘पण्डित बाजेको लौरी’, ‘कुम्भकरण’ र ‘कृष्णलीला’ निर्देशन गरेका छन् । ‘चुले निम्तो’मा ‘पूर्णबहादुरको सारंगी’का लेखक महेश दवाडीको स्क्रिप्ट लेखन छ ।फिल्मको छायांकन आगामी तिहारपछि सुरु गरिने निर्देशक वलीले जानकारी दिए । २ करोड बजेट अनुमान गरिएको फिल्मलाई गोरखा, रोल्पा, पाल्पा र रसुवा जिल्लामा छायांकन गर्ने तयारीमा निर्माण टिम छ । नेपाली समाजमा विवाह वा अन्य कुनै विशेष कार्यमा स-परिवारलाई निमन्त्रणा गर्नुलाई ‘चुले निम्तो’ भनिन्छ । फिल्मले यही विषयलाई हास्य शैलीमा प्रस्तुत गर्ने जनाइएको छ