आगामी जेठ २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकारहरु एउटा बाख्रालाई समात्न दौडिरहेका देखिन्छन् ।सार्वजनिक पोस्टरमा कलाकारहरु सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायत चित्रित छन् । सौगातको हात समातेकी गरिमा रोमान्टिक देखिएकी छन् भने आसिफको हातमा डोरी छ । 

सिमोस सुनुवारको निर्देशन तथा प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतको पनि अभिनय छ ।मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ । सन्तोष गौतमको निर्माणमा तयार भएको फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन तथा सुनिल शिवभक्तिको सम्पादन छ । बेहुली भित्र्याउने दिन जन्तीलाई टपुरीमा खुवाइने भोज प्रचलनमा फिल्म आधारित छ ।