निर्माणको तयारीमा रहेको फिल्म ‘महाराजधिराज’मा कलाकारको ‘लाइनअप’ बलियो हुँदै गएको छ । आगामी दशैंको फूलपातीमा रिलिजको तयारी गरिएको फिल्ममा पल शाह र रमेश उप्रेतीपछि अब अभिनेता आर्यन सिग्देल भित्रिएका छन् ।आर्यन र पलले यसअघि ‘पूजार सार्की’मा एकसाथ काम गरिसकेका छन् । रमेशसँग उनीहरु दुवैको यो पहिलो सहकार्य हुनेछ । फिल्मकी मुख्य अभिनेत्रीको बारेमा भने निर्माण टिमले कुनै जानकारी गराएको छैन । तर, अभिनेत्री वर्षा सिवाकोटीसँग निर्माण टिमको लिखित सम्झौता भइसकेको निकट स्रोतको दाबी छ lअभिनेता जय किशन बस्नेतको पनि अभिनय रहने ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्नेछन् । यसमा उनी स्वयंको लेखन छ । फिल्मका प्रस्तुतकर्ता विराज बिष्ट हुन् भने निर्माताहरुमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् ।