नयाँ फिल्म ‘जलाकी’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनम तोप्देनलाई लिएर पहिलो चरणको छायांकन भइसकेको फिल्ममा गत महिना धीरज मगर मुख्य भूमिकामा अनुबन्ध भएका थिए भने अब शिल्पा मास्के भित्रिएकी छन् । उनीसँग निर्माताले यसै साता लिखित सम्झौता गरेका हुन् । गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’को भिडियोमा अभिनय गरेपछि चर्चामा आएकी आकृतिले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् ।
शैलेन्द्र डि. कार्कीको डिओपी रहने फिल्मको निर्मातामा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । नेपालसहित दक्षिण कोरियामा समेत छायांकन हुने फिल्ममा निर्देशक मगर स्वयंको लेखन रहेको छ । ‘जलाकी’ शब्दले मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ ।