निर्मात्री शर्मिला पाण्डे २ वर्षपछि उनी नयाँ फिल्म बनाउने तयारीमा जुटेकी छन् ।फिल्मलाई शर्मिलाका छोरा सुरज पाण्डेले निर्देशन गर्नेछन् । यसअघि उनले फिल्म ‘परस्त्री’ निर्देशन गरेका थिए । जसमा उनको निर्देशकीय क्षमताको प्रशंसा भएको थियो । हाल अमेरिकामा रहेका उनले त्यहीँ फिल्मको छायांकन गर्ने तयारी गरेका छन् । यतिबेला फिल्मका लागि कलाकार छनोटको प्रक्रिया चलिरहेको छ ।फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्कालाई अफर गरिएको छ । निर्मात्री पाण्डेले मंगलबार उनीसँग भेट गरेकी थिइन् । शर्मिलाका अनुसार फिल्ममा दुईजना अभिनेता रहनेछन् । त्यसमध्ये एउटामा ‘परस्त्री’का अभिनेता गौरव विष्ट निश्चित भइसकेका छन् भने प्रदीपसँग सम्झौता हुन बाँकी छ । यसअघि प्रदीप र गौरवले ‘पिताम्बर’मा सहकार्य गरेका थिए । नाम तय हुन बाँकी रहेको फिल्मको छायांकन आगामी असोजपछि सुरु गर्ने योजनामा निर्मात्री पाण्डे छिन् ।