अभिनेत्री उपासना सिंह ठकुरी नयाँ फिल्म ‘सुम्निमा’मा अनुबन्ध भएकी छन् । यो ‘अञ्जिला’ निर्देशक मिलन चाम्सको फिल्म हो ।फिल्ममा उपासनाको जोडी बेलायतमा बस्ने युवकसँग बाँध्ने तयारीमा निर्देशक चाम्स छन् । त्यसका लागि उनले अडिसन आह्वान गरेका छन् । २० देखि २६ वर्ष उमेरको युवकले अडिसनमा सहभागिता जनाउन पाउने उनले जानकारी दिए । अडिसनमा यूके बस्ने युवकले मात्र भाग लिन पाउनेछन् । फिल्मको ५० प्रतिशत छायांकन यूकेमा नै हुँदैछ ।
आगामी जुलाईबाट छायांकन सुरु हुन लागेको ‘सुम्निमा’ प्रेमकथामा आधारित भएर बन्नेछ । बेलायतसहित नेपालमा पनि छायांकन हुने फिल्ममा राजीव थापाको कथा तथा पटकथा छ । चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्सको संयुक्त ब्यानरमा फिल्म बन्नेछ ।‘सुम्निमा’ निर्देशक चाम्सको ११ औं फिल्म हुनेछ । ‘वर एण्ड वधु’, ‘वीर विक्रम’, ‘वीर विक्रम २’, ‘बबी’, ‘ब्ल्यान्ड रक्स’, ‘लिलीबिली’, ‘हसियाँ’ जस्ता फिल्म निर्देशन गरिसकेका उनको करिअरकै सबैभन्दा सफल फिल्म भने ‘अञ्जिला’ हो । यसको कमाइ नेपालमा झन्डै ९ करोड ग्रस छ ।