अभिनेताद्वय सौगात मल्ल र विपिन कार्कीको फिल्म पहिलोपटक हलमा आमनेसामने भएका छन् । उनीहरु अभिनीत फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ शुक्रबारबाट एकसाथ प्रदर्शनमा आएका हुन् । ग्रामीण परिवेशमा बनेका दुईवटै फिल्मलाई रिलिजअघि भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको थियो ।‘जार’ र ‘ऊनको स्वीटर’ दुवैले मल्टीप्लेक्सहरुमा सुखद् शोज पाएका छन् । ‘ऊनको स्वीटर’लाई झन्डै २ सय शोज प्राप्त छ भने ‘जार’लाई देशव्यापी एक सय हाराहारी शोज उपलब्ध छ । दुई फिल्ममध्ये ‘ऊनको स्वीटर’को टिकट बिक्री राम्रो देखिएको छ । शुक्रबारको केही शोज बिहीबार नै हाउसफुल भएका थिए ।नवीन चौहानको निर्देशनमा बनेको ‘ऊनको स्वीटर’मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस लगायतको अभिनय छ । यो फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ । ‘जार’ भने साहित्यकार इन्द्रबहादुर राईको बहुचर्चित कथामाथि बनेको फिल्म हो । फुर्वा छिरिङ लामा निर्देशित फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापाको मुख्य भूमिका छ ।