फिल्म ‘ऊनको स्वीटर’ले धेरैपछि हलमा दर्शकको राम्रो चाप देखिएको छ । फिल्मले पहिलो दिन नै उत्साहजनक अकुपेन्सी हासिल गर्यो । शुक्रबार फिल्मको देशव्यापी अकुपेन्सी ६० प्रतिशत हाराहारी थियो । यो बैशाख महिनाकै उच्च अकुपेन्सी हो । काठमाडौं उपत्यकादेखि पूर्व–पश्चिमका हलहरुमा प्राप्त धेरै शोमा शुक्रबार बिहानदेखि साँझ ९-१० बजेसम्म दर्शकको उपस्थिति उत्साहप्रद देखिएको थियो ।पहिलो दिनको अकुपेन्सीलाई मध्यनजर गरेर देशभरका कतिपय हलहरुले शनिबारका लागि शो सङ्ख्या बढाएका छन् । जसले गर्दा फिल्मको देशव्यापी शो झन्डै तीन सय पुगेको छ । वितरक गोविन्द शाहीका अनुसार शनिबार बिहानैदेखि देशभर फिल्म हाउसफुल भइरहेको छ । टिकट बुकिङको अवस्था हेर्दा शनिबार फिल्मको कमाइ आक्रामक हुने निश्चित देखिएको उनले बताए ।फिल्म प्रदर्शनमा आएसँगै निर्देशक नवीन चौहानदेखि मुख्य कलाकारहरु विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू र एलेक्स पारसले हल-हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । शुक्रबार फिल्मको टिम हल भ्रमणमा रहँदा दर्शकहरुले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । कसैले सिक्वेलको माग गरेका थिए भने कतिले अहिलेसम्मकै राम्रो लभस्टोरी फिल्म रहेको बताएका थिए ।निर्देशक चौहान स्वयंको लेखन रहेको फिल्ममा विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरे लगायतको पनि अभिनय छ । काफ्ले युवक र गुरुङसेनीबीचको प्रेमकथालाई फिल्ममा सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । फिल्ममा अभिनय, संगीत, छायांकनजस्ता पक्ष निकै सशक्त छ । यसैले फिल्म घरेलु बक्स अफिसमा लामो रेसको घोडा बन्न सक्ने देखिन्छ ।