नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ आइतबार सार्वजनिक गरिएको छ । लोकशैलीको गीतमा फिल्मका अभिनेता एलेक्स पारस र अभिनेत्री परीक्षा लिम्बूको आकर्षक नृत्य देख्न सकिन्छ । निर्देशक चौहानले गीतको रिलिज दर्शकको माग अनुसार गरिएको जानकारी दिए । उनका अनुसार फिल्मका सुरुवाती दर्शकलाई ‘सरप्राइज’ दिनका लागि ‘चाइनेजो’ गीत पहिले नै सार्वजनिक नगरिएको हो । फिल्ममा यो गीत दर्शकले निकै रुचाएका छन् ।सार्वजनिक गीतमा सुजन चापागाईँ र सलिना विकको स्वर रहेको छ भने संगीत चापागाईँले नै तयार पारेका हुन् । हर्क साउदको शब्द रचना रहेको गीतको कोरियोग्राफी रोशन बिकले गरेका छन् । गीतको एरेन्ज कुशल सिंह र विकेश बज्रले मिलेर गरेका हुन् ।शुक्रबारबाट प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ले शनिबार आक्रामक व्यापार गरेको थियो । दुई दिनमा फिल्मको व्यापार डेढ करोड नाघेको छ । भोलि सोमबार बुद्ध जयन्तीको सार्वजनिक विदा भएकाले चार दिनमा फिल्मको कमाइ २ करोड नाघ्ने अनुमान गरिएको छ । गायक सुजन चापागाईँका गीतहरुले फिल्मप्रति दर्शकलाई आकर्षित गर्न ठूलो भूमिका खेलेको छ ।अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा एलेक्स र परीक्षासहित विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । फिल्म हेरेका दर्शकले कथावस्तु, प्रस्तुति, अभिनय, संगीत जस्ता पक्ष निकै रुचाएका छन् । कतिपयले अहिलेसम्मकै मनछुने लभस्टोरी फिल्म रहेको प्रतिक्रिया दिएका छन् ।