फिल्म ‘जारी २’को छायांकन सुरू गरिएको छ । पूर्वी पहाडी जिल्ला पाँचथरबाट छायांकन सुरू भएको फिल्मको लेखक तथा निर्देशकमा उपेन्द्र र निर्मातामा रामबाबु रहेका छन् । यसमा ‘जारी’कै जोडी दयाहाङ राई र मिरूना मगरलाई दोहोर्याइएको छ । फिल्मको छायांकन सेटबाट प्राप्त तस्वीरमा उनीहरूलाई पात्र लुक्समा देख्न सकिन्छ ।दशैंमा रिलिज लक्ष्य राखिएको फिल्ममा दयाहाङ र मिरूनासहित ऋचा शर्मा, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, सिर्जना निङलेखु लगायतको अभिनय हेर्न सकिनेछ । लिम्बू समुदायको परम्परागत लोकबाजा च्याब्रुङमा आधारित भएर फिल्म बन्ने जनाइएको छ । ‘जारी २’ निर्देशक उपेन्द्र सुब्बाको तेस्रो फिल्म हो । ‘जारी’बाट उनले निर्देशनमा डेब्यु गरेका थिए । पहिलो फिल्ममा नै उनलाई अभूतपूर्व व्यावसायिक सफलता मिल्यो । यसले घरेलु बक्स अफिसमा १७ करोड १७ लाखभन्दा बढीको व्यापार गरेको थियो ।