गत भदौमा युवराज श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी अभिनेत्री अरुणिमा लम्सालको अन्ततः आधिकारिक रुपमै सम्बन्धविच्छेद भएको छ । अरुणिमाले गत बैशाखमा अमेरिकाबाट नेपाल आएर वारेसमार्फत् अदालतमा डिभोर्सको मुद्धा दर्ता गरेकी थिइन् । गत आइतबार (बैशाख २८ गते) युवराजले सम्बन्धविच्छेदको फाइलमा हस्ताक्षर गरेका हुन् । बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय युवराज नेपाली कांग्रेसको बराहक्षेत्र नगर कमिटीका उपसभापति हुन् ।गत बैशाखमा नेपाल आउँदा अरुणिमाले मिडिया अन्तर्वार्तामा युवराजले आफूसँग ढाँटेर विवाह गरेको आरोप लगाएकी थिइन् । उनले भनेकी थिइन्, ‘उहाँले ढाँट्नुको कारण मसँग विवाह गरेर अमेरिका जानु थियो । विवाह गर्दा उहाँले झुटो बोल्नु भएको छ भन्ने थाहा भएन । पछि धेरै कुरा झूठो बोलेको थाहा पाएँ । बिहेपूर्व उहाँको बारेमा मैले बुझ्ने प्रयास गरिनँ । त्यो नै मेरो गल्ती भयो ।’अरुणिमाले विवाह भएको ६ महिनामै सामाजिक सञ्जालबाट युवराजसँगका सबै तस्वीरहरू हटाएर सम्बन्ध संकटमा रहेको संकेत गरेकी थिइन् । युवराजअघि उनको विवाह अमित अर्यालसँग भएको थियो । २०७४ सालमा उनीहरु कानुनी रुपमा अलग भएका थिए । दुवैका एक छोरी छिन्, अक्षता । अरुणिमा एक दशकदेखि आमाबुबा र छोरीको साथमा अमेरिकामा बस्दै आइरहेकी छन् ।