‘ऊनको स्वीटर’को पहिलो साताको कलेक्सन ५ करोड ७५ लाख, उल्लेख्य शो सहित आजबाट दोस्रो हप्तामा
काठमाडौं - हाल प्रदर्शन भइरहेको चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै धमाकेदार व्यापारिक सफलता आर्जन गरेको छ । निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.लि.ले शुक्रवार बिहान आधिकारिक रूपमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै हलहरूमा हाउसफुल शोहरू दिन थालेको थियो । सात दिनको अवधिमा देशभरका सिनेमा घरहरूमा दैनिक ३०० भन्दा बढी शोहरू सहित प्रदर्शनमा रहेको यो चलचित्र आजबाट दोस्रो हप्ता प्रवेश गरेको छ । दोस्रो हप्तामा अन्य नयाँ चलचित्रहरूको रिलिजको बाबजुद पनि करिब २ सय शो सहित 'ऊनको स्वीटर'ले प्रदर्शन आरम्भ गरेको छ । दोस्रो हप्ताको पहिलो दिन पनि दर्शकको चासो उत्तिकै कायम रहेको देखिएको छ ।दर्शकहरूको स्वतन्त्र समीक्षाबाट चलचित्रले थप चर्चा कमाइरहेको छ । कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको दमदार अभिनय, जीवन्त संवाद र प्रभावशाली निर्देशनले चलचित्रलाई ‘हिट’ बनाएको दर्शकको प्रतिक्रिया छ lयस चलचित्रको पछिल्लो रिलिज गीत ‘चाइनेजो जिन्दगानीमा’ गीतले युट्युब र टिकटकमा सनसनी मच्चाएको छ । त्यसअघि सार्वजनिक भएका ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीतहरूले पनि करोडौँ श्रोताको मन जितिसकेका छन् । यसको ट्रेलर पनि युट्युब ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ ।यसैबीच, हलमा दर्शकको उत्साहजनक उपस्थिति कायम रहँदा दोस्रो साताबाट देशव्यापी कलाकार परिचय तथा प्रचार भ्रमण थालिने भएको छ । निर्देशक नवीन चौहानका अनुसार भ्रमण दमौलीबाट सुरु भई पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म विस्तार हुनेछ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ सहभागी हुनेछन् ।
‘ऊनको स्वीटर’को यो उल्लेखनीय सफलता नेपाली चलचित्र उद्योगका लागि उत्साहजनक सन्देशका रूपमा हेरिएको छ, जसले गुणस्तरीय सामग्री, प्रस्तुति र सशक्त प्रचारमार्फत दर्शकलाई हलसम्म ल्याउन सकिने स्पष्ट प्रमाण प्रस्तुत गरेको छ ।