अभिनेता विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै फिल्मलाई आगामी भदौ ६ गते प्रदर्शनमा ल्याउने जानकारी गराएको हिमाल न्यौपानेको निर्देशनमा बनेको फिल्ममा विजयसहित केकी अधिकारी, मिरूना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रेयर राई, भावना खपांगी मगर, रूपेश लामा लगायतले अभिनय गरेका छन् ।
फिल्म आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट सहर पस्ने छोराको कथामा बनेको जनाइएको छ । गाउँदेखि सहर आएका एक व्यक्तिले भोग्नुपरेका कथा र उसको जीवनमा ल्याएको परिवर्तनको कथा फिल्मले भन्नेछ । आमा र छोराबीचको भावनात्मक कथा फिल्मले बोल्ने निर्देशक न्यौपानेले बताए । यसको कथा, पटकथा तथा संवाद भानुभक्त ढकालले लेखेका हुन् ।
फिल्मको छायांकन केही साताअघि सकिएर अहिले पोस्ट प्रोडक्सनमा छ । यसको एसोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने तथा सह-निर्माता आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, फिलिप डिसी, नारायण तिमिल्सिना र चुडामणि सिवाकोटी हुन् । यसमा अर्जुन पोखरेल, एसडी योगी, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, नवीन गुरूङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी छ ।