नेपाली चलचित्र ‘नालापानी’को लागी यति बेला नेपाल आर्मीको अडिसन भएको छ । नेपालले ब्रिटिस साम्रान्यबिरुद्द युद्ध गरेको थियो । भारतसम्म आइपुगेको तत्कालीन ब्रिटिसको विरुद्ध उक्त समयमा वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अङ्ग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो ।
कमजोर सैन्य शक्ति, प्रविधि आदिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न सकेन तर, नेपालले युद्धमा प्रस्तुत गरेको वीरता तत्कालीन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै र हालसम्म पनि उच्च प्रशंसित भयो । उक्त लडाइँ नेपाली सेनाले तीन पटकसम्म जितेको थियो तर अङ्ग्रेज फौजले चलाखी गरेर हराएको थियो । अङ्ग्रेजले पानीको मुहान थुनिदिएपछि पनि लामो समय लडाइँ गर्दा गर्दै नेपाली सेना पछाडि हट्न बाध्य बनेको थियो ।
यसै विषयमा आधारित रहेर नेपाली चलचित्र ‘नालापानी’ बन्न लागिरहेको छ । प्रोफेसर रामराजा कुँवर र डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ’वीर बलभद्र कुँवर’मा आधारित रही चलचित्र बन्नेछ । रमेश अधिकारीले निर्देशन गर्ने यो चलचित्रको लागि कलाकारहरूको अडिसन सुरु भएको छ । अडिसनको सुरुमा नै नेपाल आर्मीको अडिसन भएको हो । चलचित्रमा धेरै दृश्य द्वन्द्वका हुनेछन् जसको कारण पनि दक्ष योद्दा जरुरी छ । योद्दाहरुलाई तयार पार्न समय धेरै लाग्ने भएकोले पनि नेपाल आर्मीका जवानहरुलाई नै अभिनय गराउन लागिएको निर्देशक अधिकारीले बताए । चलचित्रमा युद्धका दृश्य देखाउँदा प्राकृतिक हुनु जरुरी रहेकोले पनि आर्मीबाट नै कलाकारहरू छनौट भइरहेका छन् । यद्यपि प्रमुख भूमिकामा भने नेपाल आर्मीका कलाकार हुनेछैनन् ।यो चलचित्र लाई नेपाली सेनाले पुराना हतियार, तोप, सैनिक कलाकार, सैनिक नियम तथा सैनिक नियमका लागि प्रशिक्षक लगायत सहयोग गरेको छ ।झन्डै ९ करोडको लागतमा निर्माण हुने बताइएको फिल्म ‘नालापानी’मा अर्जनजंग शाही, नवल खड्का, मनोज शाक्य, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, विशाल श्रेष्ठ, गीता अधिकारी लगायतका कलाकारहरूको अभिनय रहनेछ । सम्राट शाक्य कार्यकारी निर्देशक रहेको फिल्ममा मजोन शाक्य निर्माताको रूपमा रहेका छन् । फिल्मको पटकथा तथा संवाद आशिष् रेग्मीले लेखेका हुन् भने रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् ।