आउँदो जेठ १५ गते बिहीबार प्रदर्शनमा आउन लागेको नेपाली फिल्म महाभोज ले प्रचारप्रसारमा अनौठो शैली अपनाएको छ। रिलिजको केही दिन अघिदेखि नै फिल्मले 'सत्य कहिल्यै लुक्दैन – महाभोज' शीर्षकमा सडक नाटकमार्फत दर्शकमाझ आफ्नो कथावस्तु प्रस्तुत गरिरहेको छ।
शनिबार साँझ काठमाडौंको गोङ्गबुमा प्रस्तुत गरिएको उक्त सडक नाटकले सयौं दर्शकको ध्यान तान्यो। नाटकमार्फत फिल्मको मूल विषय– सहकारी पीडित र पीडकबीचको संघर्ष–लाई प्रत्यक्ष अभिनयमार्फत प्रभावशाली रूपमा दर्शाइएको छ।
फिल्म निर्माण पक्षका अनुसार, यो प्रचार अभियान काठमाडौंका विभिन्न स्थानहरूमा फिल्म रिलिज नभएसम्म दैनिक रूपमा सञ्चालन हुनेछ। सडक नाटकको निर्देशन आकाश नेपालीले गरेका हुन् भने लेखन सरिता कठायतको रहेको छ। कलाकारहरू सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, सरिता कठायत र विनोद प्रकाश धामीले नाटकमा अभिनय गरेका छन्।
नाटक व्यवस्थापन ट्राईडेन्ट कन्सेप्ट र द क्रियटर्स नेपाल ले लिएका थिए भने प्रस्तुति शुभआकाश टिमले गरेको हो।
दिनेेश राउत निर्देशित महाभोज सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने पीडादायी परिस्थितिलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म हो। यसमा पीडितहरूको पीडा, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेललाई गहिरो रूपमा चित्रण गरिएको छ।
फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त प्रस्तुति रहेको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् भने लेखक विकास सुवेदी हुन्।
महाभोज नेपालसँगै विदेशका केही मुलुकहरूमा पनि एकसाथ रिलिज हुने तयारीमा रहेको छ।